Sunday, April 28, 2024

#सचिप (सचिव)*

म त माथिबाटै (संघ) खटाइएको भुक्का टुरिष्ट

टुरिष्टले गन्तब्यको मज्जा लिने हो, गन्तब्य बनाउने होइन



मलाई रारा जानु छ, फोक्सुण्डो घुम्नु छ, कैलाश हेर्नु छ
मेरा पुर्खा यतैका थिए भन्दै भावनात्मक दुरी घटाउनु छ
जसोतसो पिउने पाँच कटाउनु छ, लागेको भुडीँ घटाउनु छ
ठेकेदार, दलाल र बिचौलियाको छात्रवृत्ति कोटा भेट्टाउनु छ
म त गन्तब्य बनाउने कार्यक्षेत्रगत शर्त हराएको भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो, गन्तब्य बनाउने होइन



तिमि मलाई लिऊ, सिलाजित, राडी र खरायोको टोपी देउ
म तिमीलाई स:शुल्क उपयुक्त कार्यालय प्रमुख दिन्छु
म मन्त्री, मुख्यमन्त्रीको पो गुलाम, जनताको त शासक हुँ
मलाई कर्मले यहाँ पुर्यायो, बास्तवमा म स्वाचिप (chief of wife) हुँ
म त मन रित्तिएको, बरालिएको, विचार सिद्दिएको भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो, गन्तब्य बनाउने होइन



मलाई I/NGO को बैठकमा भाषण गर्नु छ, आसन ग्रहण गर्नु छ
जिल्ला जिल्लातिर हप्काई, थर्काई, फकाई पेट भरण गर्नु छ
मलाई पढ्नु छ शान्त संग, कामको चाप नदेखाऊ पढिरहनु छ
देशको सेवा गर्न फेरी माथी गएर पनि त सचिप हुनु छ
म त गन्तब्यबिहिन यात्रामा अल्झिरहेको भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो, गन्तब्य बनाउने होइन



मलाई युरोपका नीति लागु गराउनु छ, सोमालिया बनाउनु छ
छोरासंग अम्रीकी पि.आर. छदैछ, नेपालमा अन्ठाउन्न कटाउनु छ
आफ्नै कुटीको तयारी छैन, तिम्रा प्रदेशको जिम्मा लिनु छैन
म यहाँ जागिर खान आएको हो, काम गर्ने नोकर होइन
म त नेताका गल्तीमा पो ल्याप्चे हान्ने भुक्का टुरिष्ट
टुरिष्टले गन्तब्यको मज्जा लिने हो, गन्तब्य बनाउने होइन
                                                                                    -
शोषक ऋणी,२०८१ वैशाख

(
द्रष्टव्य: कसैको वास्तविक जीवनसंग मेल खान गएमा सत्य सावित हुनेछ)