Wednesday, December 29, 2021

लिमि यात्रा संस्मरण-२०७८ (बिएल नेपाली सेवामा शृंखलाबद्ध प्रकाशित भएको)

 २०७७ सालको उपल्लो डोल्पा यात्रा संस्मरणले बेलाबेला घच्घच्याउने गर्छ। जहाँ म सुर्खेतबाट एक दिनमै बाइकमा डाेल्पा पुगेकाे थिएँ।

म पश्चिम नेपालमा जन्मेकाे हुनाले यहाँका हरेक कठिन पर्यटकीय स्थानसम्मकाे दूरी मेरा पाइलाहरुले नापुन भन्ने लाग्छ। त्यसैले घुम्नका लागि आउने हरेक अवसर छाेपु–छाेपु लाग्छ।

डाेल्पा यात्रा जस्तै एक अर्को अवसर जुर्‍याे, हुम्ला यात्रा उर्फ कैलाश मानसरोवर दर्शन। अर्थात् एक विशिष्ट तिर्थ यात्रा।

टोलीमा तत्कालीन कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, भूमि व्यवस्था कृषि तथा सहकारी सचिव र म थियौं। यहाँ म आफ्नो बिल्कुलै व्यक्तिगत भ्रमण अनुभूति लेख्दै छु।

हुम्ला जान टिकटको सकसको बारेमा भनिरहन परेन, १७ गतेको लागि टिकट निश्चित भयो। सोही दिन म अलिअगाडि सुर्खेत विमानस्थलमा गएर आवश्यक चाजोपाजो मिलाएँ।

प्रमुख सचिव ज्यूसँगै भएका कारण विमानस्थलको भीभीआईपी कक्ष हुँदै प्लेनमा गएर बसियो। तर, पहिलो गासमै ढुंगा भनेझैँ पुरानो सिता एयरको एकतिरको पंखानै चलेन।

एअरलाईन्सका कर्मचारीले हातले पंखा घुमाइरहे, हामी प्लेनभित्र एक अर्काको अनुहार हेरेर बसिरकेका थियौं। यतिबेला याे लेख्दै गर्दा केही दिन अगाडि बाजुराको कोल्टी विमानस्थलमा यात्रुहरुले जहाज धकेलिरहेको भाइरल दृश्यकाे याद आइरहेको छ।

त्यतिबेला भने हिन्दी फिल्म टोटल धमालमा जोनी लिभरको अटोका ईन्जिनवाला हेली याद आयो।

प्राविधिक कारण के थियो थाहा भएन। एकछिनपछि प्लेनका दुवै पङ्खा घुमे। पङ्खमा घुमेसँगै हुम्ला घुम्न पाइने हुनाले मन हुम्लाका डाँपाखामा घुम्न थाल्याे।

प्लेनमा ५ वटा जति मात्र सीट जोडिएको थियो भने पछाडि ८८४८ (सगरमाथा) अर्थात् एटएडफाेरएट रक्सीका कार्टुन, तरकारी लगायत अन्य सामान खाँदिएकाे थियाे।

मेरो सीट पनि कस्तो भने नि0 घुँडा राख्न नमिलेर पिठ्यूँ हवाईजहाजको झ्याल तर्फ फर्काउनुपर्ने अवस्था थियाे। मैले झल्झली नेपाल यातायात सम्झिएँ। त्याे नेपाल यातायात र याे नेपालकाे एयरलाइन्समा अन्तर केलाउन लायक छन्।

हामी साढे बाह्र बजे सिमिकोट विमानस्थल पुग्यौं। प्लेने चडेकाे बेलाका कष्ट लेख्न थालियाे भने सितिमिति पत्याउन गाह्रो हुन्छ। त्यसमाथि हाम्रै पुर्खाले महिनाैं पैदल यात्रा गरेका भाेट मधेसका कहानी ताजै छन्। त्यसका अगाडि प्लेनकाे बयान लाजकाे पसाराे हुन जान्छ।

हुम्ला विमानस्थलमा स्वागतका लागि सीडीओ, डीएफओ, डीएडीओ लगायत सम्बन्धित कर्मचारी मित्रहरु आउनुभएको रहेछ। लगत्तै प्रशासन कार्यालयमा संघ/प्रदेश मातहत कार्यालयका प्रमुखहरुसँग हुम्ला जिल्लाको समस्या, चुनौती तथा सम्भावनाको बारेमा छलफल कार्यक्रम तय भएको रहेछ।

म केहिबेर कार्यक्रममा बसेर खाजा खान निस्किएँ। बिहानदेखि खाना नखाएकोले भोकाएको थिए। त्यहाँ भाइहरु बसन्त, नन्द, उब्जनसँग बसेर चिसो मौसममा तात्तात्तो झोल मोमो खायाैं। आहा स्वाद!

त्यसपछि हाम्रो टोली वन कार्यालयमा केही समयको छलफल पश्चात् सिमिकोट वरिपरी निर्माण भएका भौतिक संरचना अवलोकनमा निस्कियो।

वन कार्यालयमा आदरणीय दाजु लोकजङ्ग शाही, प्रविन भाइ, प्रतिमा बहिनी, केशव सरसँग भेट भयो।

तत्पश्चात हाम्रो टाेली नराम्रैले बेखुस भयो। कारण थियो, निर्मित भौतिक संरचना। स्थानीय श्रोतको व्यवास्था गर्दै आयातित छठ सिमेन्टको व्यापक प्रयोगले सबै काम अधुरा, अपुरा। त्यो रंगशालाको प्याराफिट, त्यो कभर्ड हल, ति गुम्बाहरु!

ह्या हाम्राे विकास र त्यहाँ लगानी हुने बजेटकाे अपारदर्शीता!

बोराको ९ देखि १३ हजार पर्ने सिमेन्टेड मुर्कट्टा। हामी सिमपार्क-रानी वन छेउ छेउको फापर बारी हुँदै विजय होटल तर्फ अगाडि बढ्यौं। जहाँ हाम्रो साँझको बसोवासको व्यवस्था गरिएको थियो।

होटल पुग्दा साँझको ७ बजिसकेको थियो। होटलमा माननीय जीवनबहादुर शाहीसँग भेट भयो।

एकछिनको गफगाफपछि म वन कार्यालयतिर बस्छु भन्ने कुरा राखेँ। सचिव ज्यूले हैन टोली छोड्न कहाँ पाइन्छ भन्दै हुनुहुन्थ्यो। माननीय ज्यूले मेरो बचाऊमा फ्याट्टै भनिहाल्नुभो 'वनको इन्टिमेसी अलग्गै हुन्छ नि हौ सचिव ज्यू, वनकाहरुको जस्तो रमाइलो पो रमाइलो।' उहाँले मेराे भावना बुझिदिएकाेमा मनमनै धन्यवाद दिए।

उहाँले यत्ति भनिसकेपछि सचिव ज्यूले पनि 'लौन त हुन्छ भोलि बिहान ७ बजे भेटौं' भन्नु भयो। म र बसन्त भाइ होटलबाट वन कार्यालय नजिकै रहेको सब-डिभिजनमा गयौं।

साँझको खाजा/खाना नन्द भाइ, प्रतिमा बहिनी, केशव सरसँगै खाएर आराम गरेँ। खानाकाे पनि आत्मीय स्वाद हुँदाे रहेछ। त्याे साँझकाे खानामा भएकाे बेग्लै स्वाद सँधैभरी याद आइरहनेछ।

सोही दिन मुगु वन कार्यालय प्रमुख आदरणीय भरत भिना पनि हुम्लामा हुनुहुन्छ भन्ने जानकारी पाएँ, फोनमा कुरा भयाे। भोलि बिहान भेट्ने कुरा भयो। म बिहान पर्खिरहेँ...। 

म बिहानै उठेर हिँड्दै विजय होटलतर्फ गएँ। वन कार्यालय विमानस्थल भन्दा तल्लो भागमा पर्थ्यो भने होटल माथिल्लो पट्टि। हल्का उकालो। हिँड्दा जीउ तातिने। चिसाे हिमाली भेगमा हिँड्नुकाे मजा यही हाे।

मैले साँझ याेजना बनाइसकेको थिएँ। योजना के थियो भने टोलीलाई कार्यक्रम सकेर सुर्खेत पठाइसकेपछि म ४-५ दिन हिँडेर लिमी, लाप्चा पुग्ने। म यो यात्रालाई डोल्पा भन्दा कम रोमान्चक बनाउन चाहन्न थिए। यसैपनि म हिँडडुल गर्न रुचाउने मान्छे।

बिहान विजय होटलमा चिया खाँदै गर्दा एउटा सुचना पाइयो। भर्खरै कैलाश दर्शनबाट फर्केका सद्गुरुलाई मुक्तिनाथ दर्शन गर्न जान दिइएको रहेनछ। कारण कोरोनाले गर्दा त्यहाँको स्थानीय तहले आवतजावतमा रोक लगाएको रहेछ।

यो कुरा थाहा पाइसकेपछि सचिवजीले यता उता फोन गर्नुभयो, सद्गुरुलाई नेपालमा कसले व्यवस्थापन गरिरहेको छ? यससँग सम्बन्धित पक्षको जानकारी लिने कार्य भयो।

सचिव ज्यूले गृह सचिवसँगको कुराकानीमा यदि सद्गुरुले रिसेडुअल गर्न सक्ने भए मुक्तिनाथ दर्शनमा सहजीकरण गर्ने बताउनुभयो।

मैले यस विषयमा फेसबुकमा इशा फाउन्डेसन लगायत यस भ्रमणसँग कोही जोडिएको छ कि भन्दै सहयोग ट्वीट गरेँ। लगत्तै @KTMite ह्यान्डल गरेका एक जना मित्रबाट सद्गुरुको यो यात्रा चलाउने कम्पनीको एमडी अर्थात् जितेन्द्र बस्नेतको फोन नम्बर प्राप्त भयो र मैले फोन गरी गृहसचिवको सूचना सद्गुरुसम्म पुर्‍याइदिन भने र ट्वीटरमा @SadhguruJV लाई DM गरि उक्त सन्देश छोडिदिएँ।

यसपछि के भयो मलाई पनि थाहा भएन। आफ्नो काममा लगियो। चियापछि सचिव ज्यूहरु खार्पुनाथतर्फ लग्नुभयो। मेरो विजय होटल नजिकैको होटलमा भरत भिनासँग भेट भयो। साँझ उहाँकै नाम लिएर सुतेकाे थिएँ। बिहान भेट भयाे। अर्काे आत्मीय पल! 

साविककाे एउटै अञ्चलकाे बाहिर जिल्लामा हुँदा त यती आत्मीय अनुभूति हुने रहेछ भने देश छाेडेर गएकाहरुकाे एकै ठाउँमा भेट हुँदा कस्ताे हुँदाे हाे? सम्झिदा पनि ऐठन हुन्छ।

उहासँगै मुगु, हुम्ला लिंक रोड (MHLR, RAP3) का आयोजना प्रमुख विष्णुराम विष्ट सर, MHLR आयोजनाका डोर श्रेष्ठ, पदम सर लगायतसँग चिया गफ भयो।

उहाँहरु पनि त्यो दिन लिमी जाने योजनामा हुनुहुँदोरहेछ। अब सँगै जानुपर्छ भन्ने कुरा भयो। म हेलिकप्टर भन्दा हिँडेरै जानपाए हुन्थ्यो भन्ने मनस्थितिमा थिएँ।

हामी सबैजना चिया खादै लोक जंग दाइ, प्रविन भाइ भएको अर्को चिया खाने पसलमा पस्याैँ। चिया खादै गर्दा लोकराज न्यौपाने दाजुसँग पनि भेट भयो। चिया पसल आत्मीय भेटघाट, मिठा गफ र भेटघाटका चाैतारी हुन्। हुम्लाले पनि याे संस्कारको विकास राम्रोसँग गरेकाे छ।

बस्दा बस्दै ४-५ कप चिया, सु-च्या खाइयो। भर्खरै बडीमालिकाबाट पैदल यात्रा गर्दै हुम्ला पुगेका एक जना जोगीले कागजमा केही लेखेर (मौन ब्रत लिनु भएको) दिइरहनु भएको थियो। जसमा नेपालको सीमा मिचिएका सन्देशहरु थिए।

चिया खाँदै गर्दा थाहा भयाे  लोकजंग दाइ, प्रविन भाइ पनि कैलाश जाने तयारीमा हुनुहुदो रहेछ। ल अब सबै सँगै जानुपर्छ रमाइलो गर्दै भन्ने कुरा भयो। बिहानको खाना डीएफओ क्वाटरमा तय भएकोले उतै लागियो।

केहिबेरमा अर्को सूचना पाइयो कि हुम्ला घुम्न भनेर नेपालगन्जबाट (अमेरिकाबाट) रेणुका म्याडमका छोरा (बिपुल पौडेल) र भाइ (प्रशान्त न्यौपाने) आउँदै हुनुहुँदो रहेछ र सँगै पल शाह र दुर्गेश थापा पनि।

पछि थाहा भयो कि अघिल्लो साँझ हाम्रो टोली बसेको होटल दुर्गेश थापाको ससुरा बाको पो रहेछ। अर्थात् विजय लामा दाइको। करोडौंका मालिक भएपनि शालीन, नरम, सरल र भद्र हुनुहुन्छ विजय दाइ।

खाना खाइसकेपछि म, बसन्त भाइ र नन्द भाइ बिमानस्थलतर्फ लाग्यौं। बाटोमा लोकजंग दाइको घरमा पसियो। हसिलो, मिजासिलो, रमाइलो हुनुहुँदो रहेछ लोकजंग दाइ, मन परेको मान्छेको लागि जे पनि गर्ने।

उहाँको घरमा चिया खाँदै यात्रा बारे थप छलफल भयो। हेलिकप्टरमा बढीमा ५ जना अटाउने हुँदा ३ ट्रीप गर्नुपर्ने थियो। हेली ईन्धन लिन ताल्चा गएकोले फर्किन केही समय लाग्ने भयो।

त्यतिन्जेल गफ गर्दै, रमाइलो गर्दै बसियो। अन्तत: साढे बाह्र बजे हेली सिमिकोट आइपुग्यो। सिम्रिक एयरको।

अब उडान सुरु हुँदै गयो। पहिलो लटमा लोकजंग दाइ, भरत भिनाको टोली उड्यो। सल्लाह के भयो भने अगाडि गएको टोलि तुलुङ्ग/तुम्लिङ्ग मा रोकिने र सबै आइसकेपछि मौसम अनुकुल आज वा भाेलि कैलाश दर्शनको लागि लाप्चा जाने।

एकपटक हेली तुलुङ्ग पुगेर सिमिकोट फर्किन ४० मिनेट जति लाग्थ्यो। दोश्रो लटमा रेणुका म्याडम र प्रविन भाईहरु उडे। म भने सचिव ज्यूहरु खार्पुनाथ गएकोले आउन ढिला पनि हुने हिसाबले तेश्रो लटमा परे। क्यै नभनी चुपचाप कुरिरहे।

मलाई कुर्दा कुनै असजिलो भएन। बरु भित्रै–भित्रै लाप्चा हिँडेरै जान पाए हुन्थ्यो भन्ने भइरहेको थियो। तेश्रो लटमा म चाहिँ तुलुङ्गमा झर्ने र सचिव लगायत हेलीबाट नै दर्शन गरेर फर्किने भन्ने थियो।

किनभने म १-२ दिन लिमितिर अल्झिन चाहन्थे। म बीचमा झर्नुपर्ने भएकोले मलाई हेलीका अन्य स्टाफले झर्दा कसरी झर्ने? झोला के कसो गर्ने? भनेर डेमो देखाउनुभयो।

तेश्रो लटमा म सुरुमै गएर हेलीमा बसिहाले, पछि के कुरा मिलेन एक जना झर्नुपर्ने भयो भन्ने कुरो आयो। यसो हेरेको मान्छे त ५ नै छौ, अगाडिसम्म ५ जना लगेकै हो। झर्नु पर्दा सचिव ज्युहरु झर्ने कुरा भएन मै झर्नु पर्थ्यो। 

पंखा घुमिसकेकोले विजय दाइ मतिरको झ्यालमा आएर 'भाइ हामीसँगै पछिल्लो ट्रीपमा जानुपर्ने भयो' भन्नथाल्नु भयो। मैले नसुनेझैँ गरिरहेँ। उहाँले सचिव ज्यूलाई भन्नु भो पंखाले क्यै सुनिदैन थियाे। उहाँले पनि क्यै सुनिएन भन्नु भो र अन्तत विजय दाइले हेडफोनमा पाइलटलाई ल त ल जानु भन्नु भयो।

कुरा के भएको रहेछ भने नि मलाई अघिल्लो लटमा गइसक्यो सोचेर कृषि सचिव ज्यूको साथमा दुई जना अरु हुम्ला कृषि कार्यालयका साथीहरु आउनुभएको रहेछ। एक जना सीडीओ  साप नजाने र अर्काे मलाई गईसक्यो भन्ठानेर।

अन्तत: हेली उड्यो र लागियो अनकन्टार पहाडै पहाड। पहाडको टुप्पोमा कतै–कतै पहिरो गएको, अलि खोचमा पानीले बगाएर ल्याएको गेग्रान थुनिएर ताल बनेको। यस्तै–यस्तै दृश्यको फोटो/भिडियो खिच्दै हेली ५ सेकेन्डको लागि तुलुङ्गमा ल्याण्ड गर्‍याे।

मलाई पाइलटले बाहिर निस्कन संकेत गर्नुभयो। म सिमीकोटमा डेमो देखाए जसरी झोला समाएर निहुरिएर फुत्त बाहिर आएँ। फर्केर सबैलाई हात हल्लाएँ। उहाँहरु हेलीबाट कैलाश दर्शन गरेर सिमिकोट फर्किनुभयो। मैले नेपालकै ठूलो गाउँपालिका नाम्खामा पाइला टेकेँ। हाय, मेरा पाइला कति भाग्यमानी!

नाम्खा गाँउपालिकाको तुलुङ्गमा लिमी उपत्यकाका तीन गाउँ जाङ्ग, हल्जी, तिलका मानिसहरु मिलेर सञ्चालन गरेका होटलहरु थिए। २, ३ वटा होटलहरु र केही चौरी गोठ। मैले अगाडिको टोलीलाई आफू झण्डै छुटेको कुरा जानकारी गराएँ।

अगाडि पुगेको टोलीले मौसम बारे जानकारी लिएर सबै योजना बनाइसकेको थियो। दिउँसोको खाजा खाएर त्यही दिन लाप्चा पुग्ने योजना रहेछ।

हामी खाजा खाएर भर्खर यताउताको पर्यावरण/चौरीगोठ, नदी, मिनी कैलाश नियाल्दै थियौँ। वातावरण शान्त थियो। आँखा चिम्लेर मिनी कैलाशतर्फ फर्केर फोक्सोले धित मरुन्जेल शुद्ध वायूको स्पर्श गर्‍याेँ। फोक्सो लट्ठै भयो। मन एकाग्र भयाे।

अर्को टोली अर्थात् विजय दाई, पल शाह, दुर्गेशलगायत पनि तुलुङ्ग पुग्नुभयो। उहाँहरुलाई खाजा खानेबेला सम्म पर्खेरसँगै लाप्चा जाने कुरा भयो।

हाम्रो लागि लोक जंग दाइले २ वटा जीपको व्यवस्था मिलाउनु भएको थियो, त्यो रुटमा चल्ने जीपहरू उहाँका आफ्नै रहेछन्। हामी ३:४५ बजेतिर तुलुङ्गबाट लाप्चातर्फ लाग्यौं।

४२ सय  मिटरको उचाइमा जीपमा कच्ची बाटो छिचोल्दै, रमणीय तिब्बती पठार दृश्यावलोकन गर्दै, नाउरहरुको बथान नियाल्दै, कष्टका साथ फुलेका एकाध फूलहरुको बासनामा विलिन हुँदै, जंगली गधा र लोप भइसकेको भनिएको जङ्गली चौरी देख्ने अभिलाषाका साथ उचाईमा चड्दै अगाडि बढ्दै गयौं। साँझको ६:१५ बजे हामी लाप्चा पुग्यौं।

घाम अझै डुबिसकेको थिएन। कस्तो मज्जाको समय र स्थानमा पुगिएछ भने नि कैलाश पर्वत र मानसरोवर ताल लाप्चाबाट (५१ सय मिटर) समानान्तर बिन्दुमा दर्शन गर्ने ऐतिहासिक संयोग मिल्यो।

सबै मन्धमुग्ध, सबै मनमगन, कोही ध्यानतिर, कोही पूजाआजामा, मलाई पनि के सुर चल्यो खै सबै लुगा खोलेर सेन्डो पोजमा जनै जप्न थालिहालेँ।

दुर्गेश र पल चिसो खप्न सकिरहका थिएनन्। मलाई हेरेर छक्कै परे। यो एक अनुभूति हो, चिन्तन हो, बोध हो, मुक्ति मार्गमा डोरिएको मन हो, सकारात्मक उर्जा हो। मानिसका अहंकारहरुलाई पलभरमै निस्तेज गर्नसक्ने अलौकिक दृश्य, आत्माहरु शून्यतातर्फ आकर्षित भइरहेको आभाष। मनमा रुमलिरहेका हजारौं प्रश्नहरु मौनतामा विलिन भए।

केहीबेर फोटो भिडियो खिच्ने क्रम चलिरह्यो। नायक, गायकसँग फोटो खिचियो। भलाकुसारी गरियो। उनीहरु चोली तुनैले भन्ने गीतको छायाङ्कनका लागि हुम्ला पुगेका रहेछन्। उमेरले दुवै भाई, कदले दुवै होचा। पल केही शालीन, दुर्गेश भने गीतमा जस्तै लाग्याे। 

चीनले सिमा मिचेर बनाएको भौतिक संरचना लाप्चा मुनितिर थिए, संयुक्त पशु क्वारेन्टाइन भनेर निर्माण गरिएको संरचनाले सीमा अतिक्रमणको रुप लिएको रहेछ। छिमेकीहरुले दुबैतिरबाट सीमा मिच्ने क्रम रोकिनेवाला छैन।

नागरिकहरुले विरोध गरे पनि हाललाई सीमा समस्या सुल्झीने अवस्था देखिदैन। सत्यको खोजीमा खुशी हराउँन सक्ने डर नहुँदो हो त मान्छेहरु दु:खको व्यापारमा रमाउने थिए।

राष्ट्र कमजोर हुँदा नागरिक निरिह हुनुको विकल्प हुँदोरहेनछ। राष्ट्रवादी हुन नसकेको एक देशभक्त झैं भइयो। खासमा संयमित जीवन बिताउनु र हमेशा काममा जुटिरहनु हामी गरीबहरुको निम्ति विवेकसंगत सुख अनि राज्यका लागि "समृद्धि र शक्ति" को मार्ग हो।

हामी साँझ ७:०५ बजेतिर लाप्चाबाट तुलुङ्गतर्फ फर्कियौँ। कैलाश र मानसरोवरको ती दृश्य, त्यो अनुभूति मष्तिस्कमा नमेटिने गरी कैद भइसकेका छन्।

म यस्तै यात्रा गर्न रमाउने मान्छेलाई यस यात्राले थप उत्साहित बानाएको छ। हामी राति अबेर पुन: तुलुङ्ग पुग्यौं र चौरीको सुकुटीसहित खाजा/खाना खायाैं। अबेरसम्म गफिदै बस्याैं। अन्तसम्म म, पल र दुर्गेश बाँकी थियौँ। तालतालमा मिज्जु पललाई कर्णालीको पर्यटन दूत बनाउछु भनेर गफ हानेछु।

सुत्नको लागि केहीलाई त्यहीँ र केहीलाई अलि उताको अर्को ठाउँमा व्यवस्था गरिएको थियो। म अर्को ठाउँमा गएँ। त्यहाँ भरत भिना, विष्णु सर। डोर सर र पदम सरलाई सुत्ने प्रबन्ध मिलाइएको रहेछ। त्यो उचाइमा बसोवासको राम्रै व्यवस्था थियो।

१९ गते बिहानै उठेर सबैजना फरक–फरक दिशामा भागदौड गर्न थाले। शौचालय थिएन। खुल्ला प्रकृतिमा ढुङ्गा/बोटबिरुवाको आडमा "क्या लेकर आया बंदा क्या लेकर जाएगा" माटो ढुङ्गाले मलखाद छोप्ने काम भयो।

४२ सय मिटरको उच्च हिमाली भेगलाई चिरा पार्दै कलकल बगेको कर्णाली नजिकै थियाे। सोचे मानसरोवरमा डुबुल्की मार्न त सकिएन अब यही कर्णालीमा नुहाएर भएपनि चित्त बुझाउनु पर्‍याे। कतै न कतै मानसरोवरको पानि रसाएकै होला। मन थाम्नै नसकेन कर्णालीमा डुबुल्की मारेँ। आजका मितिसम्म गरेका सानातिना पापहरु समुन्द्रतिर तर्काएँ। मन हलुङ्गो भयो, चिसो अनुभव नै भएन।

म नुहाएर फर्केको २ घण्टापछि मात्र पल र दुर्गेश ब्युझिए। नुहाएको भिडियो देखेर अरुलाई चिसो लग्यो। स्थानियहरुले यता विमारी परे सीधै कैलाश हो नि सर भनेर मृत्युपल सम्झाए। मैले शरीर बिर्सेर मनको कुरा सुनेको रहेछु। जिन्दगीमा जब कुनै कुरा निश्चित हुँदैन, तब सबै सम्भव हुन्छ।

अब बिहानको खाजा खाएर हामी हल्जीतर्फ अगाडि बढ्ने भयौं। पलहरुको टोली भने गीतको छायाङ्कनका लागि हिजो गएकै ठाउँतिर जाने भयाे। हाम्रो टोली २ वटा जीपमा हल्जीतर्फ अगाडि बढ्यो।

केहिबेरको यात्रापछि हामी जाङ्ग गाउँमा पुग्यौ। त्यहाँको सामुदायिक भवनमा चिया चिसो लगायत खाजाको व्यवस्था गरिएको रहेछ। छेउको ठूलो माटोको चुल्होमा भोजपत्रको दाउरा दन्दनी बलिरहेको थियो। छततिर भोजपत्रकै सिलिङ्ग। ट्री लाइनको अन्तिम प्रजाती भएर पनि यसको प्रयोग विविधता त्यहाँ देख्न सकिन्छ।

चिया खाएर गाउँमा रहेको फिग्याल गुम्बा दर्शन गर्‍याैं र यात्रा हल्जीतर्फ अगाडि बढायौं। कर्णालीको तिरै तिर, अलिअलि ‌ओरालो, पाक्ने उमेरका उवै उवा, फापर, आलुहरु र केही सागसब्जीको खेति।

बेलाबेलामा बाटोमा फलेका तिब्बती डाले चुकको स्वाद लिदै जाँदै गर्दा दिनको करिब १२ बजेतिर अचानकको घुम्तीमा जीप रोक्न लगाइन्छ, आँखा अगाडिको फाँटमा ठोकिन्छ…….।

….गुड्दै जाँदा आँखा अगाडिको फाँटमा ठोकिन्छ। फाँटको शिरमा छ हल्जी गाउँ। गुम्बाको नामले गाउँको नाम रहन गएको होला। करिब ३ हजार ६ सय ७० मिटरको उचाइमा रहेको हल्जी गुम्बा नेपालको सबैभन्दा पुरानो ११ औं शताब्दीमा बनेको हो।

७० भन्दा बढी प्रजातिको चरा पाइने लिमी उपत्यका चरा हेरेर रमाउनेका लागि उपयुक्त गन्तव्य हुन सक्छ। नेपालमा जङ्गली चौरी, जङ्गली घोडा/गधा हेर्न पनि लिमी उपत्यका नै पुग्नु पर्ने हुन्छ।

१ करोडभन्दा बढी पर्ने कोइचिनको बक्खु नेपालमा अन्त भेटिदैन। पृथ्वीनारायण शाहका पालाको पाथी यहाँ आजसम्म रहेको छ।

हामी दिनको १२ बजेतिर हल्जी गाउँ पुग्यौँ। वरिपारी गुचुमुच्च परेका अग्ला पहाडले घेरिएको सानो समथर भूभाग। हामी घुम्तीबाटै फोटो खिच्दै रमाउँदै हल्जी गुम्बातर्फ अगाडि बढ्यौँ। 

खाना दिउँसोको १:३० बजेतिर गुम्बामै खायौं। खाना खाइसकेपछि कोही आराम गर्न थाले, कोही घुमघाममा निस्कियौं। रेनुका म्याडमलाई लेक लागिसकेको थियो। खाना खान मन नलाग्ने। मन्द टाउको दुख्ने लक्षण भएकोले औषधि खाएर आराम गर्न भन्यौं। 

लोकजंग दाइ, प्रविन भाइ र म नाम्खा गा.पा. ६ को वडा कार्यालयतिर गयौं। वडा कार्यालयसँगै लिमी स्वास्थ्य चौकी पनि रहेछ। त्यहाँ हामीले वडा अध्यक्ष पाल्जोर तामाङ्गसँग विविध विषयमा छलफल तथा जानकारी लिने काम गर्‍याैं।

लिमी उपत्यकाका तीन वटा गाउँका मानिसहरु मिलेर अध्यक्ष छान्ने प्रचलन रहेछ। न भोट न कुनै पार्टी। केही नयाँ काम गर्नुपर्दा तीन वटै गाउँका मानिसले सल्लाह गरेर मात्र गर्दा रहेछन्। कस्तो मिलेर बसेको समाज। समाज विकासकाे अनुपम नमुना।

तर, केही समयअघि १८० घरधुरी भएको लिमीमा हाल १०० भन्दामुनि (९६) घरधुरी रहेछन्। मानिसहरु काठमाडौँ र विदेश जाने क्रम बढ्दो रहेछ। कसैले गाउँ छोड्दा तोकिएको नगद र भएको जम्मै श्रीसम्पत्ति गाउँको नाममा छोड्नुपर्ने चलन रहेछ। अझ अनौठो कुरा त के रहेछ भने नि त्यहाँबाट कुनै केटी विवाह गरी अन्त गएमा उसलाई गाउँको जनसंख्याबाट लगत कट्टा गर्ने र नागरिकता बनाइसकेको भए जिल्ला प्रशासनमा गएर नागरिकता रद्द गर्न लगाउने रहेछन्।

तर, आजभोली जिल्ला प्रशासनमा जाने क्रम केही रोकिएको रहेछ। यद्यपि लिमीमा केटा मान्छेको अभावले विवाह नगरी बस्ने कन्याहरुको सङ्ख्या बढ्दै गइरहेको रहेछ। जस्तै ५ भाइले १ जना विवाह गरेपनि घरको भाइहरुमध्ये जेठोको महत्व ज्यादा हुने रहेछ।

जन्मिने बच्चाको स्याहारसुसारदेखि सामाजिक दायित्व जेठो दाइले निर्वाह गर्नुपर्ने रहेछ। अन्य भाइहरु व्यापारको सिलसिलामा अन्त जाँदा गलफ्रेन्ड/श्रीमती राख्न पाउने रहेछन्। तर, यस्ता महिलालाई घरमा ल्याउन पाइदो रहेनछ। 

त्यसरी अविवाहित महिलाबाट जन्म भएको सन्तानलाई यहाँको भाषामा न्येलु (ठिमाहा) र विवाहित सन्तानलाई रङलु (आफ्नो सन्तान) भनिने रहेछ। अन्य समाजमा अवैध मान्ने चलन भए पनि लिमीको तीन गाउँमा न्येलु राख्ने चलनलाई वैधानिक प्रथाका रूपमा लिइन्छ।

न्येलुलाई दोस्रो दर्जाको सन्तानका रूपमा स्वीकार गरी बाबुले सामाजिक परम्पराअनुसार आफ्नो क्षमता र रखौटी श्रीमतीसँगको आपसी समाझदारीका आधारमा अंश दिने चलन छ।

यहाँको बहुपति प्रथाले सबै भाइको साझा श्रीमती हुने तथा पुरुष महिलाको सङ्ख्या सन्तुलित नहुँदा न्येलु प्रथा विकल्पका रूपमा विकास भएको हुनसक्छ। हामीजस्ता फकिरहरुलाई प्रेमिका अभाव नभएजस्तो, ल्हासो।

हजारौं वर्ष पुरानो हल्जी गुम्बा जीर्ण अवस्थामा रहेछ। ७२ सालको भूकम्पले पनि केही असर गरेको पाइयो। काठका कलात्मक झ्याल ढोका र बीचको खुल्ला ठाँउमा (पटाङ्गीनी) ढुङ्गा बिछ्याइएको थियो। छत मोटोको थियो।

केही वर्ष अगाडि अनुसन्धानकर्ताले सो गुम्बामा प्रयोग भएका काठको कार्बन डेटिङ्ग गर्दा समेत सो गुम्बा हजार वर्ष पुरानो भएको निष्कर्ष निकालेका थिए। अर्को कुरा घरभित्रको छततिरको सिलिङ्गमा मसिना भोजपत्रका डाँठहरु कलात्मक तरिकाले मिलाएर सिलिङ्ग गर्ने गरेको।

हेर्दा आकर्षक देखिए पनि यसले वनको दिगो उपयोगमा चुनौती थप्ने निश्चित छ। हाम्रो टोली हल्जी गाउँमा टिकटक बनाउन खुबै व्यस्त रह्यो। केही समयपछि पल शाहको टोली पनि गुम्बामा आइपुग्यो। उनीहरु गितको छायांकन गर्दै गुम्बामा रमाए।

घोडा दौडाउने क्रममा पल लडेर सामान्य चोट लाग्यो। घोडा पनि स्वास्थ्य चौकी नजिक लडेकोले प्राथमिक उपचार गरी उनीहरु जाङ्ग गाउँतर्फ फर्किए।

हामी त्याे रात गुम्बामै बस्ने टुङ्गो लागिसकेको थियो। भोलि सिधै सिमिकोट पुग्ने याेजना थियो। बेलुकाको खाना खाएर निन्द्रादेवीसँग होस् उडायौं।

२० गते बिहानै उठेर सबै काम सम्पन्न गर्‍याैं। त्यहाँ गुम्बामा एउटा सामुहिक शौचालय थियो। कस्तो भने नि एकलटमा ६ जना सँगै बसेर शौच गर्न मिल्ने। संकलित दिसा, पिसाबमा जङ्गलको माटो, स्याउला सोत्तर मिसाएर प्रांगारिक मल बनाउने रहेछन्। आशा गरौं यो वर्ष लिमिमा उत्पादनमा वृद्धि हुनेछ।

बिहानको चिया खाएर हाम्रो यात्रा सिमिकोटतर्फ अगाडि बढ्यो। हामी पुन: कर्णालीको तिरैतिर नाउरका बथान, चौरिका क्याराभान, कर्णालीमा सारसहरुको नाच हेर्दै जाङ्ग हुँदै तुलुङ्ग पुग्यौ। 

त्यहाँ जीपमा तेल थपियो, फिल्टर फेरियो, छुर्पी, जिम्बुलगायत केही सामनाहरु किनियो। बिहानको नास्ता खाइयो र यात्रालाई अगाडि बढाइयो।

तुलुङ्ग नजिकै जीप कर्णाली तरेर वारि आउनुपर्थ्यो। नजिकै उम्लिरहेको प्राकृतिक तातो पानीको कुण्ड थियो। पानी यति ताताे कि छुन नसकिने, बुलबुल उम्लिरहेको।

त्यही कुण्डलाई पृष्ठभूमि बनाउँदै एकलट देउडा खेलियो। लोक जंग दाइको मोटरसाईकल पनि तुलुङ्गबाट सिमिकोट ल्याउनुपर्ने थियो। विष्णु सर मोटरसाईकल चलाएर बीचबाटोसम्म आउनुभयो।

बाटोका मनोरम दृश्यअवलोकन गर्दै सेलिमा छो ताल, माछा ताल हुँदै लेक हेप्कामा बेलुका ४:३० बजेतिर खाना खाइयो। साँझ करिब ७ बजेतिर डाँडाफाया हुँदै सिमिकोट पुगेर यात्रालाई विश्राम दियौं। 

त्यस्तो अफ्ठ्यारो बाटोमा ज्यानको बाजी लगाएर सकुशल सिमिकोट पुर्‍याउने चालक भाइहरुलाई हृदयदेखि धन्यवाद।

कुनैदिन मौका मिले सिमिकोटबाट हिँडेर हिल्सा हुँदै कैलाश पुग्ने इच्छा कैलाशपति समक्ष प्रकट गर्दै यस यात्रामा साथ सहयोग गर्नुहुने सम्पूर्ण टिमका सदस्यहरुप्रति हार्दिक आभार। विशेष धन्यवाद लोकजंग दाजु  र हुम्ला वन कार्यालय परिवार।